खोला तर्ने क्रममा बाढीले बगाएर एक महिला बेपत्ता

३१ भाद्र २०७६, मंगलवार १७:५६

खाँदबारी , संखुवासभाको मकालु गाउँपालिका ६ मा एक महिला खोला तर्ने क्रममा बेपत्ता भएकी छिन्। २६ वर्षीया शुकमाया राईलाई सोमबार अपरान्ह ४ बजेतिर पोखुवा खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

आफन्तको घरबाट फर्कने क्रममा सिलिचोङ गाउँपालिका ५ र मकालु गाउँपालिका ६ को बीचमा पर्ने पोखुवा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

खोला तर्ने क्रममा भेल बढेपछि राई बेपत्ता भएकी हुन् । घटना पछि इलाका प्रहरी कार्यालय याफुका प्रहरी र स्थानीयले उनको खोजी गरिरहेको बताइएको छ ।