काँग्रेसमा समायोजन ढिलाइ

२६ भाद्र २०७६, बिहीबार १०:०१

काठमाडौं, नेपाली काँग्रेसको प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय कार्यसमितिको समायोजनमा ढिलाइ भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले भदौ २० गतेसम्म समायोजनका लागि अवधि निर्धारण गरे पनि भदौ २५ गतेसम्म ४० भन्दा बढी जिल्लाको प्रतिवेदन आउन सकेको छैन ।

नेपाली काँग्रेसका केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अधिकांश जिल्लामा समायोजनको कार्य टुङ्गिएको दाबी गर्नुभयो । उहाँले ३६ जिल्लाको प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।

बाँकीको प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा समायोजन टुङ्गिए पनि प्रतिवेदन मात्रै आउन बाँकी रहेको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बताए ।

काँग्रेस केन्द्रीय कार्यसमितिको साउन २६ गतेको बैठकले अन्तरिम व्यवस्थाअनुसारको संरचना गठन गर्न निर्देशिका पारित गरी समायोजनको विधि तोकेको थियो ।

निर्देशिकाबमोजिम अधिकांश जिल्लाको प्रतिनिधि र प्रदेश सभाको क्षेत्रीय कार्यसमिति समायोजन भइसकेको निर्वाचन समितिका संयोजक अधिकारीले दाबी गरे । सचिव रिजालले भने पाँचवटा क्षेत्रीय समितिको मात्रै समायोजन हुन नसकेको खुलाए ।

कार्यविधिबमोजिम निर्वाचन समितिले समायोजनका लागि प्रत्येक जिल्लामा एक÷एक जना निर्वाचन प्रतिनिधिका रूपमा कानुन व्यवसायीलाई नियुक्त गरेको छ । निर्वाचन समितिका संयोजक अधिकारीले भने, ‘केही जिल्लाका सभापति बिरामी परेको र बाहिर रहेको हुँदा उक्त जिल्लास्थित प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमितिको समायोजन हुन सकेन ।’ यो समाचार गोरखापत्रमा छ ।