आइतबारबाट बसको टिकट बुकिङ खुला हुने

४ आश्विन २०७६, शनिबार १८:५९

काठमाडौं, दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि भोलि आइतबारबाट बसको टिकट बुकिङ खुला हुने भएको छ ।

आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु हुन लागेको हो । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनु भयो ।

आइतबारबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगायतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ ।
टिकट बुकिङ खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने भएको छ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने विभागका निर्देशक तिर्थराज खनालले जानकारी दिनु भयो ।