अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आजबाट शुरु

८ आश्विन २०७६, बुधबार २२:४५

काठमाडौं, अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेसनल सिरिज २०१९ काठमाडौंमा सुरु भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहमा प्रचण्डले अन्तर्राष्ट्रियस्तरको यस्तो कार्यक्रम आयोजना गरेर अन्नपूर्ण मिडिया नेटवर्कले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । पूर्वप्रधानमन्त्री दाहालले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा ब्यक्त गर्नु भयो । उहाँले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराले नै हरेक मानिसका लागि खेलकुद कति महत्वपूर्ण छ भन्ने कुरा दर्शाउने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पछिल्लो समय नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल सिरिजमा सुरुमा २० भन्दा बढी राष्ट्रको सहभागिता रहने भनिए पनि माल्दिभ्ससँग प्रतियोगिता जुधेका कारण १२ राष्ट्रका खेलाडीले मात्र सहभागिता जनाएको बताउनु भयो । उहाँले आगामी वर्ष २५ राष्ट्रसम्मको सहभागिता रहने विश्वास व्यक्त गर्नु भयो ।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल लगायत सुरक्षा निकायका उच्च अधिकृत तथा पूर्व अधिकारीहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया,राखेपका सदस्यसचिव रमेश सिलवाललगायत विभिन्न निकायका उच्च अधिकारीहरु, खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।