सहकारीका अध्यक्षसहितलाई जेल सजाय

१२ भाद्र २०७६, बिहीबार १२:४४

इटहरी, धरान १२ मा सञ्चालित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाको आठ करोडभन्दा बढी रुपैयाँ हिनामिना गर्ने तीन जना जेल चलान भएका छन्। सहकारी संस्थाका अध्यक्ष धरान वडा नं। १५ का कृष्ण दर्नाल विक र मोहन दर्नाल तथा मोरङ सुन्दरहरैँचा वडा नं ९ की कृष्णकुमारी विक जिल्ला अदालत सुनसरीको बुधबारको आदेश अनुसार जेल चलान भएका हुन्।

जिल्ला न्यायाधिश धर्मराज पौडेलको आदेश अनुसार अध्यक्ष कृष्णलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिइएको हो। कृष्णलाई मुलुकी फौजदारी कार्र्यविधि संहिता २०७४ को ७६ को दफा १ बमोजिम पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिइएको अदालतका प्रवक्ता गोपाल गिरीले जनाए। यस्तै, मोहन तथा कृष्णकुमारीलाई दुई–दुई लाख रुपैयाँ धरौटी वा त्यो रकम बराबरको जमानत राख्न भनिएकोमा राख्न नसकेपछि जेल चलान भएका हुन्। मोहन कृष्णका छोरा हुन भने कमलाकुमारी सहकारी संस्थाकी लेखापाल हुन्। यी दुवै जनाले धरौटी बुझाएपछि छुटने छन्।