महासंघद्धारा पत्रकार थपलियाको रिहाइको माग

३१ श्रावण २०७६, शुक्रबार १८:०८

काठमाडौँ , नेपाल पत्रकार महासंघले पक्राउ परेका पत्रकार खेम थपलियाको रिहाइको माग गरेको छ । महासंघका सदस्य, लेखक तथा साहित्यकार थपलियालाई यही साउन २५ गते बागबजारस्थित जलजला मासिकको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका पत्रकार थपलियालाई हालसम्म पनि रिहा नगरिएको भन्दै महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पत्रकार तथा साहित्यकारका रुपमा क्रियाशील थपलियालाई आफ्नो आस्था र विचार प्रकट गरेकै आधारमा पक्राउ गरी झुठ्ठा मुद्दा लगाउन खोज्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन हुन पुगेको महासंघको ठहर छ । प्रहरी परिसर टेकुमा राखिएका थपलियाको तत्काल रिहा गरी उनको कार्यालयबाट लगिएका कम्प्युटर, पुस्तकलगायतका सामग्रीसमेत फिर्ता गर्न माग गरिएको छ ।