नेपालगन्ज उपमहानगरभित्रै भूमाफियाको चलखेल

११ भाद्र २०७६, बुधबार १०:४०

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–१९ वसुदेवपुरको आलानगरका २५० घरधुरी सुकुम्बासी बस्तीमा लालपुर्जा आतंक फैलिएको छ ।

पाँच दशकदेखि जोतभोग गर्दै आएको जमिनमा भूमाफियाको चलखेलका कारण दिनहुँ जसो नयाँ–नयाँ व्यक्ति अस्थायी पुर्जा लिएर जमिन खोज्दै आउन थालेपछि ५० वर्षदेखि जोतभोग गर्दै आएका स्थानीय किसान आतंकित हुन थालेका छन् ।

२०२६ सालदेखि २९ कट्ठा जमिन जोतभोग गर्दै आएका ७१ वर्षीय मीनप्रसाद पुनले हरेक दिनजसो नयाँ–नयाँ मान्छे हातमा नक्सा र लालपुर्जा लिएर आउँदा आफू आतंकित भएको बताए ।

उनले भने, ‘पटक–पटक सुकुम्बासी समस्या समाधान आयोग गठन भए पनि भनसुन गरिदिने र आयोगका मान्छेलाई खुसी बनाउन नसक्दा अहिलेसम्म लालपुर्जा छैन । ५० वर्षदेखि जंगल फाँडेर जोतभोग गर्दै आएको जग्गाको लालपुर्जाको मुखै नदेखी मर्ने भएँ । अहिले जग्गा नै अरूले लैजान आँटेको सुन्दै छु ।’

२०६६ सालमा जग्गा नापी हुँदा स्थानीय सुष्मा पुनले १८ महिनाको काखे नानी च्यापेर दौडधूप गरिन् । २० कट्ठा जमिनमा दुई दशकदेखि खेती गर्दै आएको दाबी गर्ने उनले भनिन्, ‘घरधुरी तिर्न पैसा पुगेन । त्यसैले लालपुर्जा बनाउनै सकिनँ । गरिबको जमिन हुँदा नि सुख छैन, नहुँदा नि सुख छैन ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।