देशको भ्रष्टाचार रोक्न राज्य किन उदासीन छ ?

१६ श्रावण २०७६, बिहीबार १३:२६


बिष्णुप्रसाद शर्मा ,

राजनीतिमा संस्कार, संस्कृति र इमानदार नेताहरु नभए पछि देशको भबिश्य अध्यारो हुन्छ । अहिले देश त्यता तिर उन्मुख भएको संकेत देखाउछ । झूटको राजनीतिले जनता अल्मलिएका छन । सत्य र नैतिकताको राजनीतिले मात्र देशको भबिश्य निर्माण गर्छ ।

राष्ट्रले सबल र सक्षम नेतृत्वको खोजी गरिरहेको छ । कुनै समय यस्तो थियो कि हाम्रो देशलाई संसारले इमानदारको देश भनी चिन्ने गर्थ्यो। आज ती सबै इतिहास भए।सत्ता र शक्तिको आडमा नेपालको राजनीति चलेको छ ।

राजनीतिक दलहरु सहि बाटोमा हिडन सकिरहेका छैनन् । यसको परिणाम भ्रष्टचारले देश थिलै थिलो बनेको छ । अहिले राजनीतिक दल र तिनका नेताहरुमा सत्ता स्वार्थ र सम्पत्तिको आकर्षण बढ्दो छ। जुनसुकै क्षेत्रमा भ्रष्टहरूको हैकम छ।

जसरी पनि सम्पत्ति आर्जन गर्ने प्रवृत्ति नेताहरुमा देखिएको छ । मुलुक आज हरेक क्षेत्रमा भ्रष्टाचारले आक्रान्त बन्दै छ। आज सर्वसाधारण नागरिकले कष्टपूर्ण जीवन गुजार्नु परिरहेको छ।
आज वाइड बडीको भ्रष्टाचार बाहिरियो। हिजो पनि लाउडा, धमिजा काण्ड सार्वजनिक भएकै हुन्।

हिजो प्रजातन्त्रका नाममा सरकारी स्वामित्वमा रहेका उद्योग बेचिएकै हुन्। आज पनि सरकारी जग्गा–जमिन भूमाफियाले भोगचलन गर्दैछन्। समग्र राजनीति नै माफियाले सञ्चालन गरिरहेको छ । लोकतन्त्रका नाममा भ्रष्टहरूलाई पुलपुल्याइएको छ। भूमाफियादेखि मेडिकल माफियासम्म रातारात राष्ट्रवादी भएका छन्।

भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरूलाई हतकडी लगाउने काम हुदै आएको छ । टुँडिखेल प्रकरण होस् वा मेलम्ची प्रकरण होस्, कसैलाई कारबाहीको दायरामा ल्याइँदैन। यीनीहरूबाट सुशासनको आशा राख्नु व्यर्थ मात्र हुनेछ।

संसारमा राजनीतिक परिवर्तनपछि आर्थिक उन्नति भएका उदाहरण छन्। नेपालमा यी राजनीतिक दलहरुबाट बिकास , समृद्दि हुने कुनै संकेत नै देखिदैन । भ्रष्टाचार आज राष्ट्रको क्यान्सर बन्न पुगेको छ। देशको भ्रष्टाचार रोक्न राज्य किन उदासीन छ ? शर्मा , नेपाल संरक्षण अभियानका संयोजक तथा राजनीतिक बिश्लेषक हुनुहुन्छ ।