सवारीसाधन कारवाहीबाट पौने ५३ लाख राजस्व संकलन

१४ श्रावण २०७६, मंगलवार १३:५०

पर्वत, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष ५२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। २०७५ वैशाखदेखि गत असार मसान्तसम्म ५२ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने बस, ट्रक, टिपर, कार, जिप, ट्रयाक्टर र मोटरसाइकलबाट उक्त राजस्व संकलन गरिएको हो।

कार्यालयको तथ्यांकअनुसार २०७५ जेठमा सबैभन्दा बढी सात लाख एक हजार ५०० रुपैयाँ संकलन भएको छ भने सबैभन्दा कम साउनमा दुई लाख ६८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। यसैगरी भदौमा तीन लाख ८२ हजार ५००, असोजमा चार लाख ६३ हजार, कात्तिकमा चार लाख ३३ हजार ५००, मंसिरमा तीन लाख ६७ हजार, पुसमा तीन लाख ४३ हजार रुपैयाँ संकलन भएको छ।

यस्तै, माघमा तीन लाख ५९ हजार, फागुनमा तीन लाख ८१ हजार ५००, चैतमा चार लाख ३४ हजार ५००, वैशाखमा चार लाख ९७ हजार ५०० र असारमा ६ लाख ५४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

गत आर्थिक वर्षमा ट्राफिक नियमको पालना नगरेका कुल नौ हजार सवारी साधनहरूमाथि कारबाही भएको छ।

आर्थिक वर्षको पहिलो महिना साउनमा ४५०, भदौमा ६५०, असोजमा ७००, कत्तिकमा ७००, मंसिरमा ६००, पुसमा ६००, माघमा ६००, फागुनमा ६५०, चैतमा ७५०, वैशाखमा ९००, जेठमा एक हजवार २५० र असारमा एक हजार १५० वटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सबैभन्दा बढी कर संकलन कार र जिपको कारवाहीबाट संकलन भएको छ।

कुल तीन हजार ५५२ वटा जिप र कारमाथि कारबाहीबाट २० लाख ६ हजार ५०० रुपैयाँ संकलन भएको छ। सबैभन्दा कम राजस्व ट्रयाक्टरबाट ६ लाख १ हजार ५०० रुपैयाँ संकलन भएको छ।