लागूऔषध छुटाउन प्रत्येक प्रदेशमा दुई ,दुई परामर्श केन्द्रः महानिरीक्षक खनाल

१० श्रावण २०७६, शुक्रबार १८:२६

काठमाडौँ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध दुव्यर्सनीमा फँसेका व्यक्तिलाई लागूऔषध छुटाउनका लागि प्रत्येक प्रदेशका दुई÷दुई परामर्श केन्द्र स्थापना गर्ने बताएका छन् ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालद्धारा नेपाल पुलिस क्लबमा आज आयोजित ‘सडक सुरक्षा र लागूऔषध नियन्त्रण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम’मा उनले सो कुरा बताएका हुन् । “लागूऔषध नियन्त्रण गरी शान्तिपूर्ण समाज निर्माण गर्नका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको हो, समुदायसँगको सहकार्यमा समाजमा हुने अपराध नियन्त्रणमा यसले सहयोग पुग्नेछ,”–उनले भने । एम्बुलेन्समा समेत लागूऔषध कारोबार हुने गरेको बताउँदै यसलाई निर्मूल पार्न सबै पक्ष लाग्नुपर्ने उनको भनाई थियो ।

महानिरीक्षक खनालले सडक सुरक्षित भए मात्र दुर्घटना न्यूनीकरण हुने बताउँदै सुरक्षित सडक निर्माणका लागि ट्राफिक प्रहरीको साथसाथै चालकको पनि उत्तिकै जिम्मेवारी रहेको बताए । मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति विस्तारै कम हुँदै गएको उनको भनाई थियो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमका १२ विषयमध्ये सडक सुरक्षा र लागूऔषध नियन्त्रण समेत रहेको महानिरीक्षक खनालले बताए ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सडक सुरक्षा र लागूऔषध नियन्त्रणलाई विद्यालयको पाठ्यक्रममा समेत समावेश गरेर विद्यार्थीलाई अध्ययन अध्यापन गराउनुपर्ने खाचो औंल्याए ।
प्रमुख जिल्ला अधिकारी आचार्यले सभ्य समाज निर्माणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख समेत गरे ।
नार्कोनन् नेपालका कार्यकारी निर्देशक बसन्तराज कुँवरले मुलुकका लागि लागूऔषध दुव्यर्सनी चुनौतीपूर्ण बन्दै गएको भन्दै यसलाई कम गर्न सबै एकजुट हुनुपर्ने बताए ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसनका उपाध्यक्ष दिपिका थाापाले बालबालिकालाई लागूऔषध र सडक सुरक्षाको बारेमा जानकारी दिनुपर्ने बताईन् ।
सडक सुरक्षाको बारेमा प्रस्तुतीकरण दिँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेल चालकको लापरबाही, तीब्र गती, मापसे र ओभरटेकका कारण दुर्घटना बढ्दै गएको भन्दै यसलाई रोकथाम गर्न महाशाखाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिए ।
लागूऔषध नियन्त्रणसम्बन्धि प्रस्तुतीकरण गर्दै लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायव उपरीक्षक गौतम थापाले विस २०६९ देखि हालसम्म ब्यूरोले जथाभावी रुपमा लागूऔषध ओसारपसार गर्ने ९६ जना विदेशी नागरिक सहित दुई हजार ५२८ जनालाई पक्राउ गरेको बताए ।