पश्चिम नवलपरासी ट्राफिक प्रहरीले एक वर्षमा १ करोड ४० लाख राजस्व उठायो

१४ श्रावण २०७६, मंगलवार १३:३९

नवलपरासी, ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड ४० लाख १६ हजार राजश्व संकलन गरेको छ।

आर्थिक बर्ष २०७४÷०७५ मा ७१ लाख मात्र राजश्व उठाएको ट्राफिक प्रहरीले ०७५÷०७६ मा दोब्बर बढि राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

गत आर्थिक वर्षमा २२ हजार ८ सय ८० वटा सवारीसाधन प्रहरी कारवाहिमा परेका थिए। ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा भित्रि सडकहरुमा सवारी चेकजांचलाई नियमित गरेकोले कारबाहिमा पर्ने सवारीको संख्यामा बृद्धि भएको जनाएको छ।

प्रहरीले जतिसुकै चेकजांचमा कडाई गरे पनि राजमार्ग र भित्री सडकमा हुने दुर्घनामा भने कमि आउन सकेको छैन। ट्राफिक नियम पालना नगर्ने, कागजपत्र नलिई सवारी चलाउनेलाई प्रहरीले कारवाहि गरी जरिवाना काट्ने गर्दछ। जरीवानाबाटै प्रहरीले झन्डै डेढ करोड रकम संकलन गर्न सफल भएको हो।