नेपालको हार, विश्वकप सपनामा ब्रेक

१२ श्रावण २०७६, आईतवार ११:४३

काठमाडौं , सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८२ रनले पराजित हुँदा नेपालको २०२० टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ । यस खेलको विजेता बन्दै टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगिता छनोट हुने नेपाल असफल भयो । त्यो अवसर सिंगापुरले पाएको छ ।

१९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । सोमपाल कामीले ११ रनको योगदान गरे । पारस खड्का १२ रन बनाए आउट भए । शरद भेषवाकर ७ रोकितकुमार पौडेल ५ विनोद भण्डारी ९ रन बनाएर आउट हुँदा करण केसी र सन्दीप लामिछाने शुन्य रनमै पेभिलियन फर्किए ।

सिंगापुरका लागि सेल्लाडोर विजयकुमारले नेपालको सर्वाधिक चार विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरका ब्याट्सम्यानले नेपाली बलरलाई निरन्तर डोमिनेट गरेका थिए। नेपालका लागि अभिनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए। नेपालविरुद्ध उच्च स्कोर बनाउने क्रममा टिम डेभिडले ४३ बलमा ७७ रन बनाए। त्यसैगरी रोहन रंगरजनले ३३ बलमा ४९ रन र मनप्रिट सिंहले २७ बलमा ४२ रन बनाए। अभिनाश बोहराले १८औंर २०औं ओभरमा ३ विकेट र लिएपनि सिंगापुरको स्कोर रोक्न त्यो ढिला भइसकेको थियो।