सामुहिक एकताविना मुलुकको समृद्धि सम्भव छैनः नेता नेपाल

८ असार २०७६, आईतवार १७:०१

काठमाण्डौं,पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सामुहिक एकताविना मुलुकको समृद्धि सम्भव नहुने बताउनु भएको छ । उहाँले समुन्नत नेपाल निर्माणको लागि सबैको सहकार्य हुनु जरुरी रहेको बताउनु भयो ।

फोकस नेपालले राजधानीमा आयोजना गरेको समृद्धिका लागि सहकार्य, राष्ट्रका लागि अपरिहार्य बिषयक विचार गोष्ठी एवं सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले नेपाल धार्मिक सास्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न भएकोले समुन्नत नेपाल निर्माणको लागि अन्तरास्ट्रिय पर्यटक भित्र्याउनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा ३ नम्बर प्रदेशका सभासद नरोत्तम बैद्यले सांस्कृतिक धरोहरको संरक्षणमा सबै उत्तिकै लाग्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपालका विभिन्न जिल्लामा विभिन्न पेशा व्यवसायमा आबद्ध १७ जना लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई एक समारोह विच सम्मान गरिएको थियो ।

विभिन्न विधामा रहेर राष्ट्र निर्माणमा योगदान गर्नुभएका सम्मानित व्यक्तित्वहरुलाई बधाई दिदै फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रको समृद्धि र समुन्नतिको लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउँदै सम्मानित व्यक्तित्वहरुको राष्ट्र निर्माणमा ठुलो भूमिका रहेको समेत बताउनु भयो ।