सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सूचना प्रविधि विधेयक ल्याइएको होः सञ्चारमन्त्री

६ असार २०७६, शुक्रबार १४:४९

काठमाडौं , शुक्रबार संसदको विकास तथा प्रविधिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल थियो ।

छलफलका क्रममा केही सांसदले व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने मनसायले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएको आरोप लगाएका थिए ।

जवाफमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्क्रिनसर्ट देखाउनु भयो ।

‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ’ भन्दै बास्कोटाले स्क्रिनसर्टमा लेखिएको क्याप्सन पढेर सुनाउनु भयो । ‘के भन्नुहुन्छ ? हाम्रो सभ्यता र हाम्रो स्वतन्त्रता यही हो ? नजानेको व्यक्तिले यो भाषा लेख्या होइन । यस्ता दशौं छन् मसंग । देउवाजीको बारेमा पनि छ’ बास्कोटाले थप्नु भयो ।

उहाँले व्यक्तिगत स्वतन्त्रतालाई हनन गर्न नभई सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सूचना प्रविधि विधेयक ल्याइएको बताउनु भयो ।