शिखरको ढुंगा’ माथि परिचर्चा

१ असार २०७६, आईतवार १३:१४

कास्की , सगरमाथा आरोही साहित्यकार सरल सहयात्रीद्वारा लिखित उपन्यास ‘शिखरको ढुंगा’ माथि परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा गर्दै आएको अन्तक्र्रिया उक्त कृतिमाथि अन्तक्र्रिया गरिएको हो । उक्त कार्यक्रममा सहयात्रीले उपप्रध्यापक विष्णु ज्ञवालीसँग उपन्यास तथा नेपाली राजनीतिकका विविध पाटाका बारेमा अन्तरंग संवाद गरे ।

सशस्त्र युद्धमा जनसेनाका रूपमा विभिन्न मोर्चा सम्हालेका सहयात्रीले उपन्यासमा सगरमाथा आरोहण र युद्धलाई बिम्बात्मक रूपमा उधिनेका छन् । सगरमाथाको सफल आरोहण गरेका राजनीतिज्ञका रूपमा समेत परिचित उनले शिखर चढ्नु र जनयुद्ध लड्नु एउटै भएको सुनाए । उनले भने, ‘सगरमाथा चढ्नु भनेजस्तो सजिलो छैन । त्यहाँ पनि मृत्यु स्वीकारेर नै जाने हो ।

जनयुद्ध पनि त्यस्तै हो । मरिन्छ भन्ने थाहा हुन्छ तर कसको पालो अघिपछि भन्नेमात्रै हो ।’ उनले आफू साहित्य र राजनीतिमा सँगसँगै अगाडि बढाइरहेको बताए । उनले भने, ‘युद्धकै वेलादेखि मैले कविता, कथा र डायरी लेख्थेँ । त्योवेला कलमभन्दा हतियार नै बढी बलशाली थियो । त्यस्तो अवस्थामा साहित्यमा धेरै ध्यान दिने परिवेश थिएन ।’ उनले त्यसवेला द्वन्द्वभित्रका आन्तरिक कुरा, विवादलाई उजागर गर्न मात्रै कथाहरू लेखेको जिकिर गरे ।

शिखरको ढुंगासहित ३ कृति प्रकाशित गरिसकेका सहयात्रीले आफूले धेरैजस्तो साहित्य लेखन जनयुद्धकै वेला गरेको जनाए । उनले साहित्य भन्ने कुरा फुर्सदमा लेख्न नसक्ने बताउँदै भने, ‘जतिवेला युद्धको हतार थियो । त्यसको चापका बीचमा धेरै रचना लेखेँ । जनयुद्ध अत्यन्तै सिर्जनशील थियो भन्ने मलाई लाग्छ ।’

उनले जनयुद्धमा सहिद भएका ‘कमरेड’ को सपना पूरा गर्ने उद्देश्य राखेर आफूले सगरमाथा चढेको भनाइ राखे । सहयात्री तत्कालीन माओवादी र सरकारपक्षबीच भएको १० वर्षे जनयुद्धलाई नजिकबाट नियाले र भोग्नेमध्येका एका पात्र हुन् । उनले भने, ‘एकदिन देशमा गणतन्त्र ल्याउने भनेरै क्रान्ति गर्न युद्धमा होमिए । ०६२र६३ सम्म आइपुग्दा ४ दर्जन लडाईं लडे । लडाइँमा २ सयभन्दा बढी सहयोद्धालाई मैदानमै छोडिआए ।’

जनयुद्धलाई पृष्ठभूमि बनाएर सगरमाथा आरोहणको अनुभवलाई केन्द्रमा राखेर लेखिएको ‘शिखरको ढुंगा’ सरल र पठनीय भएको सहजकर्ता उपप्राध्यापक विष्णु ज्ञवालीले बताए । पठन संस्कृति विकास गर्ने लक्ष्यका साथ हरेक महिना कृतिमाथि अन्तक्र्रियात्मक कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष केशवशरण लामिछानेले बताए । स्रोत सौर्य दैनिक