लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्नु पर्छः राष्ट्रपति भण्डारी

१ असार २०७६, आईतवार १५:५८

काठमाण्डौ , राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्बद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय गर्न र सुझाव दिन आग्रह गर्नु भएको छ ।

आयोगको ६९ औंँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाण्डौमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माण गर्ने सरकारले लिएको संकल्पलाई पूरा गर्न पनि लोक सेवा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको स्मरण गराउनु भयो । लोकसेवा आयोगले परीक्षण पद्धतिलाई समय सापेक्ष बनाउने प्रयास गरिरहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा उहाँले गर्नुभयो । उहाँले कर्मचारीहरुलाई राष्ट्रको आर्थिक तथा सामाजिक उन्नति र प्रगतिमा समर्पित भएर जुट्न पनि आह्वान गर्नुभयो ।