रोजगार संयोजकको छनौट गर्दा १५ मिनेटमा नै परीक्षार्थीले नतिजा पाउने व्यवस्था रहेको श्रममन्त्री विष्टको दाबी

९ असार २०७६, सोमबार १५:११

काठमाडौं , श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गर्नु भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शिर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको उत्तर दिँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तह अन्तर्गत कार्यान्वयन गर्ने गरि कार्यक्रम पठाइएको र त्यसको कार्यविधि, निर्देशिका, क्षेत्र कार्यान्वयनको विधि, अनुगमन र भुक्तानीको विधि तय गरिएको बताउनु भएको हो ।

उहाँले सांसहरुले लक्षित समुदाय र बजेट खर्चको विषयमा उठाएको प्रश्नको सम्बोधन भन्दा पनि रोजगार संयोजक चयन प्रक्रिया र श्रम ऐन अनुसार श्रमिकले पोशाक र सामग्री प्रयोग गर्ने काम भएको उल्लेख गर्नु भएको थियो । रोजगार संयोजकको छनौट गर्दा १५ मिनेटमा नै परीक्षार्थीले नतिजा पाउने व्यवस्था रहको उहाँको दाबी छ ।

सरकारले बेरोजगार व्यक्तिलाई दलीय कार्यकर्ताको दृष्टिकोणमा व्यवहार नगरेको र आफ्नो दायित्व र कर्तव्यलाई इमान्दारीतापुर्वक पुरा गर्ने तर्फ गम्भीर रहेको मन्त्री विष्टले स्पष्ट पार्नु भयो । स्वदेशमा नै अधिकतम रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा जाने वाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको भन्दै उहाँले नेपाल भित्रै रोजगारी सिर्जना गरी सफल मुलुक बनाउनेतर्फ सरकार गम्भीर रहेको बताउनु भयो ।