राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याएको छः योगेश भट्टराई

१९ जेष्ठ २०७६, आईतवार १४:४५

्र काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटको बचाउ गर्दै राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याएको बताउनु भएको छ ।

बजेट वितरणमुखि भएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले आलोचना गरिरहेका बेला नेता भट्टराईले गरिब जनताको हितलाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याउनु परेको प्रतिक्रिया दिनु भएको हो । सरकारले पेश गरेको बजेटमाथिको छलफलमा आइतबार प्रतिनिधिसभाको छलफलमा भाग लिँदै उहाँले गरिब, दलित, महिलालगायतका पीछडिएका समूदायको हितका लागि पनि बजेट वितरणमुखि बनाउने बाध्यता रहेको स्पष्ट पार्नु भयो ।

बजेटले राष्ट्रिय गौरवको आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिएको उहाँले दाबी गर्नु भयो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सम्पन्न गर्ने गरी बजेट ल्याउनुले मुलुकको उर्जा संकट समाधानमा उल्लेख्य योगदान पु¥याउने उहाँको भनाई थियो । नेता भट्टराईले बजेटको उत्पादनमा जोड दिएको, वितरण न्यायोजित हुनुपर्छ भन्ने मान्यतालाई अघि सारेर सामाजिक न्यायको मुद्दालाई उजागर गरेको पनि बताउनु भयो ।

उहाँले बजेटमा स्रोतको अभाव हुनु स्वभाविकै भएको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सरकारले स्वदेशी उत्पादन र अन्तराष्ट्रिय समुदायसँग आर्थिक सहायता लिने कुरालाई जोड दिनुपर्ने उल्लेख गर्नु भयो ।