मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः बाँस्कोटा

२७ जेष्ठ २०७६, सोमबार १४:१६

बाँकें , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने बताउनु भयो ।
उहाँले भन्नु भयो , ‘विधेयक श्रमजीवी पत्रकारको हितमा छ, लेखेर खानेका पक्षमा छ । लेखेकै आधारमा कोही कारवाहीमा पर्दैन । गलत गर्नेलाई विधेयकले नियमन गर्ने हो, सही सूचना दिँदा कारवाही हुन्छ कि भनेर डराउनु पर्दैन ।’ विधेयक पढ्न पत्रकारहरुलाई सुझाव दिँदै मन्त्री बाँस्कोटाले सडकमा उफ्रेर र आन्दोलन गरेर समस्या समाधान नहुने बताउनु भयो ।

विधेयक दर्ता गर्नासाथ फिर्ता लिनुपर्छ भन्दै जुलुस निकाल्ने प्रवृत्ति गलत भएको उहाँले औँल्याउनु भयो । ‘सरकार अभिभावक हो, अभिभावकले सन्तानको घाँटी रेट्न सक्दैन । यो विधेयक गला रेट्न ल्याइएको होइन । सन्ततिको संरक्षणका लागि विधेयक ल्याएको हो’, मन्त्री बाँस्कोटाले भन्नु भयो । पत्रकारिताको पद्धतिलाई सहीरुपमा सञ्चालन गर्नका लागि विधेयक ल्याएकाले यसमा विवाद र आन्दोलन गरेर समय खेर नफाल्न पत्रकारलाई मन्त्री बाँस्कोटाले आग्रह गर्नु भयो ।

उहाँले देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि केही गैरसरकारी संस्थाको रोजीरोटी गुमेपछि पत्रकारिता क्षेत्रमाथि खेल्ने फाइदा लिने प्रयास गरिरहेको बताउनु भयो ।