मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौँ युवा

२१ जेष्ठ २०७६, मंगलवार १०:१५

काठमाडौं , श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौँ युवा परेका छन् । सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ ।

रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाप, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन् । मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघले जेठ १७ गतेदेखि सबै गन्तव्य मुलुकको उडान बन्द गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।