‘भूकम्प आउँछ’ भन्दै हिँड्ने ‘ज्योतिष’ क्षेत्री पक्राउ

२१ जेष्ठ २०७६, मंगलवार १७:२३

काठमाडौं , ‘भयानक भूकम्प आउँछ’ भनेर ठोकुवा गर्दै हिँड्ने ‘युवा ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ परेका छन् । आफूलाई ज्योतिष बताउँदै विभिन्न यूट्यूब च्यानलमा भूकम्प आउने ठोकुवा गर्दै हिँडेका क्षेत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

विभिन्न युट्युव च्यानलमा उनले प्राकृतिक विपत्ती आइपर्ने दाबी गर्दै आएका छन् । उनले आफूलाई पक्राउ गर्न प्रहरी प्रशासन र सरकारी निकायलाई चुनौतीसमेत दिएका थिए ।