बिनाअनुमति गैससले स्थानीय तहमा कार्यक्रम गर्न नपाउने

५ असार २०७६, बिहीबार १४:१७

काठमाडौं , सरकारले गैरसरकारी संस्थाहरुलाई बिनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन नगर्न प्रतिबन्ध लगाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिनु भएको हो ।

सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्ने उहाँको भनाइ छ । बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तरराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको पनि बताउनु भयो ।