बजेट कागजी घोडा, सवारी बोक्न सक्दैनः बालकृष्ण खाँड

२३ जेष्ठ २०७६, बिहीबार १४:२३

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडामात्र भएको बताउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उहाँले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गर्नु भएको हो । पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले समृद्धि हासिल नहुने उहाँले बताउनु भयो । कागजको घोडाले सवारी बोक्न नसक्ने उहाँले उल्लेख गर्नु भयो ।

उहाँले गतवर्ष कागजको घोडा सानो रहेको र यसवर्ष केही ठूलो भएको बताउनु भएको । पानी जहाज र रेलको सपना कागजको घोडाले पुरा नगर्ने भएकाले दुःख लागेको उहाँले बताउनु भयो । उहाँले समाजवाद हुँदै साम्यवाद उन्मुख हुन खोज्ने सरकारको बजेट समाजवाद हुँदै पूँजीवाद उन्मुख भएको दाबी गर्नु भयो । कर्मचारीको तलब वृद्धि भएपनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको उहाँले टिप्पणी गर्नु भयो ।