पुरानो नीतिलाई निमिट्यान्न पारी सम्पूर्ण नयाँ संरचना गर्छु भन्ने कुरा सम्भव छैनः मन्त्री पण्डित

८ असार २०७६, आईतवार १४:२८

काठमाडौं , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुरानो नीतिलाई निमिट्यान्न पारी सम्पूर्ण नयाँ संरचना गर्छु भन्ने कुरा सम्भव नभएको बताउनु भएको छ । आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु भताभुंग बनाएर सबै नयाँ गर्ने विषय सम्भव नभएको बताउनु भएको हो ।

समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका लागि विभागीय मन्त्री पण्डितलाई समितिमा बोलाएको हो ।

उहाँले विगतमा गरिएको व्यवस्था विभेदकारी भए परिर्वतन गर्दै जान सकिने र भविष्यमा पनि आवश्यकताअनुसार परिर्वतन गर्न सकिने बताउनु भयो । तर, विद्यमान सम्पूर्ण नीतिगत व्यवस्थामा डोजर लगाउन भने सम्भव नभएको उहाँको भनाइ थियो ।
सरकारको विभिन्न संरचना र संगठनहरु पनि त्यो अनुसार तयार नभएको बताउनु भयो । उहाँले विभिन्न पदमा कार्यरत व्यक्तिको कार्यगत स्थिति कहाँ कति परिर्वतन गर्ने भन्ने अनुसार अधिकतमसम्म मिलाएर अघि बढेको पनि जानकारी दिनु भयो ।