ठमेलको नेतृत्वमा जाने ध्रुवको दाउ के ?

२४ जेष्ठ २०७६, शुक्रबार १२:१०

काठमाडौं , ठमेल पर्यटन बिकास परिषद्को शनिबार हुने निर्वाचनमा महासचिवको रुपमा ध्रुव अधिकारी बलियो उम्मेदवारको रुपमा देखापरेका छन् ।
परिषद्को निर्वाचनमा उनी प्रकाश नरसिंह राणाको समूहबाट उठेका छन् । यस क्षेत्रमा लामो समयदेखि काम गरेका अनुभवी अधिकारीको उम्मेदवारीलाई व्यवसायीले पनि निकै महत्वका साथ हेरेका छन् । ईमान्दार छबि भएका र व्यवसायीको पक्षमा लागिरहेका अधिकारीले आफू महासचिव भएपछिको एकमात्र उद्येश्य ठमेललाई व्यवस्थित गर्ने, शान्ति सुरक्षा कायमा गर्न पहल गर्ने र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा ठमेललाई बिकास गर्ने सोच बनाएका छन् ।
२५ वर्ष अघिबाट व्यवसायमा लागेका उनले सरकार, सरोकारवाला निकाय र परिषदबीच समन्वय हुने हो भने पनि आर्थिक समृद्धि र देशको बिकास गर्न सहज हुने बताए । विभिन्न देशमा पुगेर त्यहाँको अनुभव संगालेका उनले भने ‘ विदेश राम्रो बन्न सक्छ भने हामी पनि नेपाललाई स्वर्गिय बनाउन सक्छौं त्यसका लागि प्रष्ट भिजनको खाँचो छ’ उनले भने ‘ विदेशमा प्राप्त ज्ञान र अनुभवलाई ठमेलको बिकासमा लगाउँछु ।’ उनले निर्वाचनका बेला गरिएका प्रतिवद्धता आफ्नो समूहले पूरा गरेर छाड्ने विश्वास दिलाएका छन् । ठमेलका व्यवसायी र घरधनीसँग पनि राम्रो सम्बन्ध भएका अधिकारीले सबैको सहज हुने गरी काम गर्ने जनाएका छन् ।
‘म महासचिव भएर पद ओगट्न मात्र निर्वाचनमा गएको होइन, केही सुधार गर्ने लक्ष्य छ’ उनले भने ‘अहिलेसम्म मैले गरेको योगदानलाई सम्झेर व्यवसायीले मतदान गर्नुहुन्छ र आफ्नो अधिकार माग्नुहुन्छ भन्नेमा ढुक्क छु ।’