औषधि पसल कारबाहीमा

७ असार २०७६, शनिबार ०९:४१

काठमाडौं , औषधि व्यवस्था विभागले देशभरका ९४ वटा औषधि पसललाई कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरेको विभागले जनाएको छ । कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराइएको छ भने १६ वटालाई बन्द गराइएको छ । १७ वटा औषधि पसललाई निलम्बन गरिएको छ । यस्तै, तीनवटा औषधि पसलविरुद्ध मुद्दा दायर भएको छ ।

दर्ता नभएको, प्रतिबन्धित औषधि बिक्री वितरण भएको, अनुमतिपत्र नलिई व्यवसाय गरिरहेको, एलोप्याथिक पसलमा आयुर्वेदिक औषधि बिक्री वितरण हुने गरेको र नवीकरण नभएकोलगायतका अवस्थामा औषधि पसल सञ्चालन गरेको भन्दै कारबाही गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार औषधि पसल आफ्नो नाममा दर्ता गर्ने र पसल सञ्चालनका लागि अर्कै व्यक्तिलाई दिने गरेको भेटिएपछि केही पसललाई कारबाही पनि गरेको जनाएको छ । राजधानी दैनिकमा खबर छ ।