एक दिने निशुल्क स्वास्थ शिविर सम्पन्न

२० जेष्ठ २०७६, सोमबार १७:२०

ललितपुर, लगनखेलमा आँखा, नाक, कान, घाटीको एक दिने निशुल्क स्वास्थ शिविर संचालनमा आएको छ । सोमबार आयोजित उक्त शिविर ललितपुर महानगरपालिका, जनस्वास्थ्य शाखा र ५ नम्बर वडा कार्यालय वडा जनस्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजना र बिपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाटी अस्पताल तथा पुनर्स्थापना सेवाको सह आयोजनामा संचालनमा आएको हो । उपचारका लागि शिविरमा आएका बिरामीलाई निशुल्क रुपमा औषधी र चश्मा वितरण गर्नुका साथै ७० बर्ष कटेका बृद्ध बृद्धालाई पौष्टिक आहार समेत वितरण गरिएको थियो ।

शिविरमा करिब १५० बृद्ध बृद्धा र अन्य उमेर समुहका केही ब्यक्तिले परिक्षण गराएको वडा जनस्वास्थ्य कार्यान्वयन समितिका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले जानकारी गराएकी छिन् ।

बिशेष गरि ज्येष्ठ नागरिकको स्वास्थ अवस्थाको पहिचान गरि उनीहरुको स्वास्थमा सुधार ल्याउने हेतुले स्वास्थ कार्यक्रम अन्तर्गत उक्त शिविरको आयोजना गरिएको वडा अध्यक्ष विकासमान श्रेष्ठले जनाए ।

उक्त शिविरबाट सिफारिस भई आएका जटिल समस्या भएका बिरामीलाई लोकन्थली स्थित बाल आँखा, नाक, कान घाटी अस्पताल तथा पुनर्स्थापना सेवाबाट दिईने उपचार र औषधीमा सहुलियत उपलब्ध गराईने अस्पतालका इमेज प्रोमोसन अफिसर मनिष चित्रकारले जानकारी दिए । अस्पतालले विभिन्न स्थानमा प्रत्येक सोमबार आँखा, नाक, कान, घाटी सम्बन्धी शिविर संचालन गर्दै आएको उनले प्रष्ट पारे ।