स्वास्थ्यमा सबैको पहुँच हुनुपर्छः उपराष्ट्रपति पुन

३ जेष्ठ २०७६, शुक्रबार १८:०२

काठमाडौं , उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्‍याउन ध्यान दिनुपर्ने
बताउनु भएको छ ।

नेपाल कुष्ठरोग निवारण संघको स्वर्ण जयन्तीका अवसरमा सुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुने उल्लेख गर्नु भयो ।

कुष्ठ प्रभावितको पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले २०२६ जेठ २२ गते संघको स्थापना भएको थियो । उपराष्ट्रपति पुनले गुणस्तरीय उपचार नपाएर जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नेतर्फ सरकारलाई सचेत बन्न आग्रह गर्दै अझै पनि ग्रामीण क्षेत्रका जनताले स्वास्थ्य सेवा नपाइरहेको अवस्था रहेको बताउनु भयो ।

कुष्ठरोग निवारणको घोषणा गरिए पनि अझै देशका विभिन्न भू–भागमा कुष्ठ प्रभावित रोगी भएको चर्चा गर्दै उपराष्ट्रपति पुनले सबै कुष्ठ प्रभावितलाई सहज उपचार तथा पुनर्स्थापनाको पहुँचमा ल्याउन जोड दिनु भयो ।