संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएनः मुख्यमन्त्री शाही

२० बैशाख २०७६, शुक्रबार १४:४८

काठमाडौं , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने स्पष्ट पार्नु भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले पहिलो वर्ष तयारीमै बितेको स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो , ‘हाम्रो पहिलो वर्ष तयारी गर्नमै व्यतित भयो । हामीले प्रशासनिक संरचना तयार गर्यौं । समग्र विकासलाई अघि बढाउनको लागि जनशक्ति आवश्यक हुन्छ । त्यसतर्फ ध्यान दिँदै हामीले कमभन्दा कम जनशक्तिमा बढिभन्दा बढि काम लिने नीति अख्तियार गरेका छौं ।’ साक्षात्कारमा बोल्दै मूख्यमन्त्री शाहीले आफूहरु योग्य कर्मचारी नियुक्ती गर्ने तयारीमा जुटेको पनि बताउनु भयो ।

पहिलो वर्ष कानूनहरु निर्माण गर्नुपर्ने भएकोले उक्त कामपनि सम्पन्न गरिसकेको उहाँले स्पष्ट पार्नु भयो । बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उहाँको भनाई छ । समग्र कर्णाली प्रदेशको विकास गर्नेगरि आफूहरुले गुरुयोजना बनाएको सुनाउँदै उहाँले भन्नु भयो , ‘बसोबास वैज्ञानिक छ कि छैन त्यो हेरेका छौं । सडक, विजुलीलगायतका अत्यन्तै महत्त्वपूर्ण पक्षहरुमा पनि हामीले ध्यान दिएका छौं । एकीकृत वस्ती विकास कार्यक्रम अघि बढाउनेछौं ।’

त्यस्तै गुरुयोजनाअन्तर्गत कुल कति सडक र पुलहरु निर्माण गर्नेलगायतका विषयमा पनि आफूहरुले ध्यान दिएको शाहीले स्पष्ट पार्नु भयो । उत्पादनको क्षेत्रमा पनि विशेष ध्यान दिईएको उहाँको भनाई छ। बजेट कार्यान्वयनमा भने आफूहरुले चूनौति भोग्नु परेको उहाँले गुनासो सुनाउनु भयो । त्यस्तै शाहीले संघीयता कार्यान्वयनको सवालमा पनि संघ, प्रदेश र स्थानीय तहबीच तालमेल नभएको जिकिर गर्नु भयो । प्रदेशमा आईपर्ने कतिपय प्राकृतिक विपदका समस्याको बारेमा आफूहरु गम्भिर भएपनि आवश्यक स्रोत र साधन नहुँदा अकालमै प्रदेशवासीहरुले ज्यान गुमाउनु परेको पनि उहाँले गुनासो सुनाउनु भयो ।