राष्ट्रपतिलाई महारानीको जसरी सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम गर्‍याे : देउवा

२२ बैशाख २०७६, आईतवार १४:५९

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीबाट नागरिक ठगिएको अनुभुति भएको बताउनुभएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, महालेखा परिक्षकको प्रतिवेदन लगायतले भ्रष्टाचार र आर्थिक विचलन बढेको देखाएको भन्दै उहाँले यसले सरकारले सुशासन कायम गर्न नसकेको दावी गर्नुभयो । 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि सुरु छलफलमा सभापति देउवाले नीति तथा कार्यक्रममा कुनै ठोस योजना र कार्यक्रम नल्याइएको बताउनुभयो । 

केन्द्रीय सरकार संघीय व्यवस्थाको मर्म र भावना अनुकुल हिँड्न नसकेको भन्दै यो समयमा विकास निर्माणले कुनै गति लिन नसकेको बताउनुभयो । 

तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिए पनि त्यसबाट अहिलेसम्म एक जनाले पनि रोजगार पाउन नसकेको उहाँको दावी छ । भेरी बबई डाइभर्सन नेपाली कांग्रेसले सुरु गरेको भए पनि अहिले सरकारले आफैले गरेको जस्तो गरेर धाक देखाएको पनि उहाँले बताउनुभयो ।  

सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीको जसरी सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम गरेको पनि बताउनुभयो ।