मेयरको पारिश्रमिक नगरका मजदुरलाई

१९ बैशाख २०७६, बिहीबार १०:१५

झापा – कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाबाट आफूले पाउने सम्पूर्ण पारिश्रमिक नगरका मजदुरलाई हस्तान्तरण गर्नुभएको छ । 

नगर प्रमुख पोखरेलले अघिल्लो वर्षको आफ्नो पारिश्रमिक तीन लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा झापाको कनकाई नगरमा बुधबार आयोजित मजदुर सम्मानसहितको विशेष कार्यक्रममा कनकाई नगर क्षेत्रका मजदुरको हितका लागि स्थापना भएको मजदुर हितकोषमा रकम जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको हो । 

सांसद एलपी साँवा लिम्बूमार्फत नगर प्रमुख  पोखरेलले हस्तान्तरण गरेको चेक स्थानीय अगुवा मजदुर मानबहादुर पौडेल, सचिन लामा, मनकुमार न्यौपाने र टङ्क गुरगाईंले बुझ्नु भएको थियो । कनकाई नगरपालिकाको संरक्षणमा रहने गरी स्थापना भएको मजदुर हितकोषमा आर्थिक वर्ष २०७४/७५ मा नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ जम्मा गरिएको थियो भने आव २०७५/७६ को बजेटबाट पाँच लाख विनियोजन गरिएको नगर पोखरेलले बताउनुभएको छ । मजदुर हितकोषमा हालसम्ममा रु २० लाख बढी जम्मा भइसकेको बताइएको छ ।   

कोषमा सदस्य हुन चाहने मजदुरले रु ५०० तिरेर सदस्य बन्न सक्ने प्रावधान भए अनुरुप हाल ४०० बढी स्थानीय मजदुर सदस्यका रुपमा रहेको नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन कनकाईका अध्यक्ष मनकुमार न्यौपाने (केशर) ले बताउनुभएको छ । कोषको सदस्य भएका मजदुरका लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुने छ भने अवस्था हेरेर अङ्गभङ्ग भएकोमा तीन लाख रुपैयाँसम्मको उपचार हुन सक्ने व्यवस्था भएको बताइएको छ ।