मिडिया काउन्सिलसम्बन्धि विधेयक सच्याउन सक्दो पहल गर्छुः अध्यक्ष तिमिल्सिना

३१ बैशाख २०७६, मंगलवार १५:२७

काठमाडौं, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धि विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भटमा उहाँले सो विधेयकमा देखिएका कमीकमजोरी हटाउन पर्याप्त छलफल गर्ने अवसर भएको पनि स्पष्ट पार्नु भयो ।

विधेयक संशोधनको क्रममा र विषयगत समितिमा छलफलको क्रममा सरोकारवाला निकायसँग पनि छलफल गर्ने प्रक्रिया भएकाले कुनै पनि विधेयक सच्याएर अघि बढाउन पर्याप्त अवसर रहेको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

त्यसअवसरमा युनियनले सम्पूर्ण मिडियामाथिनै ‘कू’ गर्ने नियतका साथ ल्याइएको सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको थियो ।