मातृभूमिका लागी नेपाली नामक नयाँ नागरिक समाजको स्थापना

५ जेष्ठ २०७६, आईतवार १३:३८

काठमाडौं , मातृभूमिका लागी नेपाली नामक नयाँ नागरिक समाजको स्थापना भएको छ । मातृभूमी रक्षाको लागि भन्दै नयाँ नागरिक समाज स्थापना गरिएको हो ।

केशवप्रसाद भट्टराइको सभापतित्वमा काठमाडौंको प्रज्ञाभवनमा भेला सम्पन्न गरिएको छ ।भेलामा आएका सहभागीहरूलाई लुम्बिनी, मूक्तिनाथ र सिन्धुली लडाइँको किल्लाबाट ल्याइएको माटोको टीका लगाएर स्वागत गरिएको थियो ।

साथै बुद्ध प्रतिमाको नमन गर्दै देशका लागि लड्ने शहीदको स्मरण एवम् ‘गाउँछ गीत नेपाली‘’ गीतको गुञ्जनबाट भेलाले देशमा बढ्दै गएको भ्रष्टाचार अन्त्यका लागि अभियान थाल्नुका साथै संघीयता र धर्मनिरपेक्षता खारेजी जस्ता एजेण्डाहरुलाई प्राथमिकता साथ जनतासामु लैजाने जनाएको छ । संयोजक देब प्रकाश त्रिपाठीले देशमा राजनीतिकर्मीले देशलाई केन्द्रमा राखेर सोचिदिउन् भन्ने नेपालीको आशा टुटेकोले अभियान शुरु गरेको बताउनु भयो ।
अदृश्य शक्तिको कब्जामा नेता, नेताको कब्जामा कार्यकर्ता र कार्यकर्ताको कब्जामा जनता परेकाले देश अवनति र अवसानतर्फ लागेको उल्लेख गर्दै त्रिपाठीले ०६२ सालयता मात्र विभिन्न आठ सय बुँदामा भएको सहमति र सम्झौताहरूले केबल नेताहरुको स्वार्थ रक्षा गरेको आरोप लगाउनु भयो ।

भेलालाई सम्बोधन गर्दै नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले मुलुकको धर्म–संस्कृति नास हुन लागेकोमा चिन्ता ब्यक्त गर्नु भयो ।

देशका प्रमुख नेताहरू नै इसाइकरणको चङ्गुलमा फसेको आरोप लगाउँदै उनले यही गतिले इसाइको प्रभाव बढ्दै गए आठ–दश वर्षमै मुलुक इसाइमय भई मौलिक पहिचान गुम्ने ठोकुवा गर्नु भयो । राष्ट्र बचाउने धर्म भनेको ओमकार परिवार बचाउनु रहेको तर्क गर्दै उहाँले हिन्दुराष्ट्र होइन पहिले हिन्दुत्वको रक्षा गर्नु अपरिहार्य रहेको सुझाव दिनु भयो । त्यसै गरि डा। केबी रोकायाले आफु इसाई रहेको तर मुलुकको रक्षाको निम्ती हिन्दु धर्म अनिवार्य हुनुपर्नेमा जोड दिनु भयो । साथै माओवादी आन्दोलनको क्रममा आफुले इसाइहरु माझ उनीहरुको पक्षमा आवाज पुर्याएको तर विगत चार वर्ष देखी आफु मुलकको रक्षाको चिन्तामा डुबेको बताउनु भयो ।
कार्यक्रममा वरिष्ट प्राध्यापक,समाजशास्त्री,अर्थशास्त्री,विभिन्न पेसा व्यवसायी र नागरिक अगुवाहरुको उपस्थिती रहेको थियो । साथै मातृभूमीका लागि नेपाली अभियानका देश विदेशका अगुवाहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।