परीक्षा नियन्त्रण कार्यालयको चरम लापरवाहीः उत्तीर्णको मार्क्सिटमा पटक–पटक तारा

५ जेष्ठ २०७६, आईतवार ११:२७

काठमाडौं , मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय पनिका पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् ।

त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् । पास भएका विद्यार्थीको मार्क्सिटमा पनि फेल भएकाको जस्तो तारा चिह्न राखेर परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको हो ।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत पुनाराम शर्माले दोस्रो सेमेष्टर २०७५ सालमा उत्तीर्ण गरे । तर, उनको मार्क्सिटमा दुईवटा तारा लागेर आयो । दुई वटा तारा लाग्नुको अर्थ हो, उनी दुई पटकसम्म फेल भए ।

यसलाई सच्याउन फेरि विद्यार्थी बल्खु धाउनुपर्छ । धाएर मात्र पुग्दैन, कर्मचारीले गर्ने यस्ता गल्ती सच्याउन थप दस्तुर पनि विद्यार्थीले बुझाउनुपर्छ ।

परीक्षा नियन्त्रण कार्यालयका समस्या एकरदुई मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधि मैत्री बन्न सकेको छैन । केही महिनाअघि २४ घण्टाभित्र ट्रान्सकृप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन । सामान्य रेकर्ड हेर्न पनि वर्षौं पुराना ढड्डा पल्टाउनुपर्ने बाध्यता छ ।यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।