नीति तथा कार्यक्रमले समृद्धिको आधार समातेको छः अर्थविद् डा खनाल

२२ बैशाख २०७६, आईतवार १०:३५

काठमाडौं , अर्थविद् डा डिल्लीराज खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बाहिर हल्ला भएजस्तो हावादारी नभएको स्पष्ट पार्नु भएको छ ।
राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै खनालले मुलुकको आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्यअनुरुप नै नीति तथा कार्यक्रम आएको दाबी गर्नु भयो । उहाँले भन्नु भयो , ‘नीति तथा कार्यक्रमले सुधारको पहल गरेको छ । सुशासनको कुरा गरेको छ । नीति तथा कार्यक्रम कार्यान्वयनको वर्क–प्लान देखिएको छ ।’

साक्षात्कारमा बोल्दै उहाँले केस्रा–केस्रा केलाएर हेर्ने हो भने नीति तथा कार्यक्रम कुनैपनि कोणबाट हावादारी नभएको जिकिर गर्नु भयो । आफूले सरकारले ल्याएको उक्त नीति तथा कार्यक्रमलाई आलोचनात्मक रुपमा हेरेको पनि टिप्पणी गर्नु भयो ।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई अघि बढाउने आयामको रुपमा नीति तथा कार्यक्रम आएको पनि विश्वास खनालले दिलाउनु भयो । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका कार्यहरुलाई एकीकृत गर्ने काम पनि भएको उहाँको भनाई छ ।

यद्धपी कतिपय कार्यक्रमहरु महत्वकांक्षी रहेको पनि उहाँले स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो , ‘शहरीकरण गर्ने कुरा र ७ वटै प्रदेशमा उद्योग स्टेट खोल्ने कुरा अलिक महत्वकांक्षी छन् । त्यस्तै प्रत्येक गाउँपालिकामा औद्योगिक ग्राम खोल्नेलगायतका केही महत्वकांक्षी कार्यक्रमहरु पनि ल्याईएको छ ।’

उच्च आर्थिक वृद्धिदर हाँसिल गर्नको लागि र समृद्धिको मार्गमा मुलुकलाई अघि बढाउनको लागि नीति तथा कार्यक्रमले थप आधार प्रस्तुत गरेको उहाँको दाबी छ । तर, केही कार्यक्रमहरु छरिएकोमा भने उहाँले गुनासो पोखनु भयो ।

निजी क्षेत्रको लगानीको वातावरण बनाउनुपर्ने र उनीहरुको कारोबार र उत्पादन लागत कम गर्नुपर्नेमा जोड दिनु भयो । त्यस्तै, उहाँले पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्नेमा पनि जोड दिनु भयो । लगानीलाई सन्तुलित ढंगले परिचालन गर्नुपर्ने खनालले
बताउनु भयो ।

९ महिनामा सरकारको पुँजीगत खर्च जम्मा ३५ प्रतिशतमात्रै भएको बताउँदै उहाँले खर्च गर्नसक्ने क्षमता बढाउनुपर्नेमा खनालको जोड छ । दोहोरो आर्थिक वृद्धि हाँसिल गर्नको लागि सरकारले नीतिगत–संरचनागत सुधारतर्फ विशेष ध्यान दिनुपर्ने उहाँले सुझाव दिनु भयो ।

अहिले जारी रहेका परियोजनाहरुलाई पूर्नसंरचना गरिएको, सरकारी खर्चको दक्षता बढाउने कामलगायत नीति तथा कार्यक्रममा राम्रा कुराहरु रहेको पनि उहाँले बताउनु भयो । निजी क्षेत्रको लगानी प्रर्वद्धनमा सरकारले जोड दिएको पनि खनालले स्पष्ट पार्नु भयो ।

कृषि अनुदानलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उहाँले जोड दिनु भयो । त्यस्तै, सिँचाईको हकमा पनि सिक्टा, रानीजमारा, भेरी–बबई डाईभर्सन ठीक ढंगले अघि बढाउने कुरा कार्यक्रममा आएको उहाँले बताउनु भयो ।

त्यस्तै ५ लाख थप रोजगारी सिर्जना र ५० हजार रोजगारी बैंकिङ क्षेत्रबाट सिर्जना गरिने कुरापनि कार्यक्रममा समेटिएको भन्दै यो राम्रो पक्ष भएको टिप्पणी गर्नु भयो । कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर सञ्चालनमा ल्याउने र योसँगै फाष्ट ट्रयाक, रेलवेजलगायत निर्माणको कुरा कार्यक्रममा समेटिएको उहाँले बताउनु भयो ।

आगामी एक वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा र आगामी दुई वर्षभित्र पूर्ण साक्षरता बनाउने कार्यक्रमपनि आएको भन्दै उहाँले यी सबै सकारात्मक कुरा भएको बताउनु भयो ।