देशमा स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म आर्थिक राजनैतिक अराजकता रहेको छः नेता पौडेल

२५ बैशाख २०७६, बुधबार १४:०२

सिन्धुली , नेपाली कांग्रेसका नेता रामचन्द्र ्रपौडेलले सरकारले अलोकतान्त्रिक ढंगबाट नीति तथा कार्यक्रम पास गरेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन शाखा सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त कुरा बताउनु भएको हो ।

प्रतिनिधिसभाको बैठकमा संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरी जबरजस्ती पास गरेको पौडेलको भनाइ थियो ।

ओली सरकारमा खराब सोच र अभिव्यक्तिका कारण अहङ्कारले ग्रस्त रहेको बताउँदै यसले देशलाई सही गन्तव्यमा पुर्‍याउन नसक्ने नेता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लथालिङ्ग देशको भताभुङ्ग चाल, जस–जसले लड्छ उसैले खाला भनेझैँ देशमा स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म आर्थिक राजनैतिक अराजकता रहेको छ ।’

कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा। रामशरण महतले यो सरकारले नागरिकलाई सपनामात्र देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम भनेको आगामी दिनमा गरिने कामको योजना भएता पनि सरकारले मैले यो गरे उ गरे भनेर आत्मा प्रसंशा मात्र गरेको छ ।’