चीनको उच्चस्तरीय टोली नेपाल आउँदै

२५ बैशाख २०७६, बुधबार ०९:४३

काठमाडौं , छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका कामपाबीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदै छ ।
नेपालसँग गान्सु र लान्झाउ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियान नेतृत्वको टोली आगामी साता नेपाल आउँदै छ ।

यही अवसरमा प्रदेशसँग भगिनी सम्बन्ध गासिने र लान्झाउ–काठमाडौं महानगरबीच विविध सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनको उत्तरपश्चिम भेगमा अवस्थित गान्सुको राजधानी लान्झाउ हो ।

आगामी सोमबार काठमाडौंमा नेपाल–चीन–गान्सुको आर्थिक तथा व्यापार प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया तय भएको छ। सोही कार्यक्रममा प्रदेशसँग भगिनी सम्बन्ध स्थापना सम्बन्धमा औपचारिकरूपमा हस्ताक्षर हुने बताइएको छ । कार्यक्रममा सहभागी हुन ताङको नेतृत्वमा लान्झाउ नगरका उपमेयरसहित करिब दुई दर्जन चिनियाँ अधिकारी आइतबार अपराह्न काठमाडौं आउँदै छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।