आपत्कालीन अवतरण गर्ने क्रममा विमानमा आगलागी, ४१ जनाको मृत्यु

२३ बैशाख २०७६, सोमबार ०७:५७

रुसमा एक यात्रुवाहक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । विमानमा समस्या देखिएपछि मस्को विमानस्थलमा आपत्कालीन अवतरण गारइएको थियो । अवतरणको क्रममा नै विमानमा आगो लागेको हो ।

विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु सवार रहेका थिए । ३७ जना जिवित रहेको र केही घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसको सरकारी विमान कम्पनी एयरोल्फोटका अनुसार विमानमा केही समस्या देखिएपछि विमानस्थलतर्फ फर्काइएको थियो । यसबारे कम्पनीले विस्तृत जानकारी भने दिएको छैन ।
सामाजिक सञ्जालमा आइरहेका भिडियोमा यात्रुहरु विमानको आपतकालीन् ढोकाबाट निस्केर भागिरहेका छन् । भिडियोमा विमान अवतरण भइरहेको र कालो धूवाँ फालिरहेको देखिन्छ ।

सुखोइ सुपरजेट १०० विमान मस्कोको शेरमियतएभो विमननस्थलबाट मारमास्कको लागि उडान भरिरहेको थियो । विमानमा प्राविधिक समस्या देखिएपछि उडान भरेको केही समयपछि नै विमानस्थलमा आपतकालीन अवतरणका लागि फिर्ता गरिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यलाई समवेदना प्रकट गरेका छन् ।