सुनको भाउ घट्यो

२९ चैत्र २०७५, शुक्रबार १२:२५

काठमाण्डौ– यो वर्षको अन्तिम शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन शुक्रबार तोलाको ५९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

समग्रमा सुनको भाउ यो वर्ष तोलामा एक हजार रुपैयाँले बढेको छ । गएको वैशाख २ गते सुन तोलाको ५८ हजार ६ सय रुपैयाँ थियो । त्यसपछि भदौ १ गते यो वर्षकै कम तोलाको ५५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसपछि घटबढ हुँदै फागुन ८ गते यो वर्षकै महङ्गो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी शुक्रबार तोलामा १० रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैहरेको छ । चाँदीको भाउ भने यो वर्ष तोलामा ३० रुपैयाँ घटेको छ । गएको वैशाख २ गते चाँदी तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।