वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन

९ बैशाख २०७६, सोमबार १२:०८

काठमाडौं, राप्रपाले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सोमबार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको बताउदै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुने जानकारी दिनु भयो । राप्रपाले देशलाई हिन्दुराष्ट्र बनाइनु पर्ने, राजतन्त्रको पुनर्स्थापना गरिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गर्दै आएको छ । सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता कमिटी गठन गरेको हो ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गर्नु भएको थियो ।