युनाइटेड वर्ल्ड ट्रेड सेन्टरले त्रिविलाई २ करोड भाडा तिरेन

९ बैशाख २०७६, सोमबार १०:३८

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले विभिन्न प्रयोजनका लागि भाडामा लगाएको जग्गाको शुल्क उठाउन सकेको छैन ।

विश्वविद्यालयले त्रिपुरेश्वरस्थित संयुक्त विश्व व्यापार केन्द्र (युनाइटेड वर्ल्ड ट्रेड सेन्टर) भवनका लागि दिएको जग्गाको भाडा वर्षौंदेखि उठाउन नसकेको हो । महालेखा परीक्षकको प्रतिवेदनका अनुसार आर्थिक २०६३/०६४ देखि २०७४/०७५ सम्मको जग्गा भाडा असुल गर्न त्रिविले सकेको छैन ।

यो अवधिको झण्डै १ करोड ६१ लाख जग्गा भाडा र त्यसमा लागेको विलम्ब शुल्क ७६ लाख गरी २ करोड ३७ लाख रुपैयाँ उठ्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

युनाइटेड विल्डर्स एण्ड इञ्जिनियर्स प्रा.लि.ले युनाइटेड वर्ल्ड ट्रेड सेन्टर निर्माणका लागि विश्वविद्यालयसँग २०५९ माघ २ मा सम्झौता गरेको थियो ।

२०६० अघि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमै थियो । विश्वविद्यालयको जनप्रशासन क्याम्पस पनि अहिलेको युनाइटेड वर्ल्ड ट्रेड सेन्टर रहेको ठाउँबाटै सञ्चालन हुने गर्दथ्यो ।

सम्झौतापछि विश्वविद्यालयको केन्द्रीय कार्यालय र जनप्रशासन क्याम्पस त्रिभुवन विश्वविद्यालयले चर्चेको बल्खु र कीर्तिपुरको जग्गामा सरेको हो ।

विश्वविद्यालयले युनाइटेड विल्डर्स एण्ड इञ्जिनियर्स प्रा.लि.लाई ३२ वर्षका लागि जग्गा भाडामा लगाएको हो । जग्गा भाडामा लगाउँदा भएको सम्झौता अनुसार हरेक महिनाको भाडा महिना सुरु भएको १५ दिनभित्र बुझाइसक्नुपर्ने उल्लेख छ ।

तोकिएको समयमा भाडा नबुझाए २० प्रतिशतका दरले विलम्ब शुल्क लाग्ने व्यवस्था सम्झौताको दफा ८ को २ को (ख) मा उल्लेख छ । तर विश्वविद्यालयले तोकिएको समयभन्दा ढिलो गरी भाडा बुझाउँदा पनि विलम्ब शुल्क लिन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

अहिले युनाइटेड विल्डर्स एण्ड इञ्जिनियर्स प्रा.लि.ले विश्वविद्यालयलाई मासिक ५ लाख रुपैयाँ भाडा बुझाउँदै आएको छ । २०७३ अघि भने उसले मासिक ४ लाख बुझाउने गरेको विश्वविद्यालयका लेखा परीक्षक नारायण बस्नेतले बताउनुभयो ।

विश्वविद्यालय र युनाइटेड विल्डर्सबीच भएको सम्झौतामा भाडा दर निश्चित समयमा बढ्ने उल्लेख रहेको उहाँ बताउनुहुन्छ । महालेखाको प्रतिवेदनले पनि सम्झौता अनुसारको भाडा रकम शुल्कसहित असुल गर्नुपर्ने सुझाव दिएको छ ।

जग्गा भाडा बापत उठ्न बाँकी रहेको रकम उठाउने प्रकृयामा विश्वविद्यालय रहेको र सम्झौता गर्ने पक्ष पनि दिन तयारै रहेको विश्वविद्यालयका उपकुलपति डा.तीर्थराज खनियाँले बताउनुभयो ।

त्रिविका उपकुलपति डा.तिर्थराज खनियाँ
त्रिविका उपकुलपति डा.तिर्थराज खनियाँ

२०७२ मा आएको विनाशकारी भूकम्प र पहिले हुने गरेका बन्द हड्ताल जस्ता कारण देखाउँदै त्यो बेला युनाइटेड विल्डर्सले सम्झौता अनुसारको भाडा तिर्न समय लगाएका कारण अहिले बाँकी देखिएको पनि उहाँले बताउनुभयो ।

भाडामा लिने पक्षलाई बोलाएर बाँकी रहेको रकम तिर्न आफूहरुले भनिसकेको र उनीहरुले एकै पटक नभई किस्ताबन्दीमा बाँकी रकम तिर्ने भनेकाले विश्वविद्यालयले त्यसै अनुसार असुल गर्ने काम गरिरहेको उपकुलपति खनियाँले जानकारी दिनुभयो ।

‘मासिक रकम तिर्ने विषयमा कुनै विवाद नरहेकाले अब बाँकी रहेको रकम पनि जति सक्दो छिटो चुक्ता गर्न भनिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘छिट्टै नै बाँकी देखिएको रकम पनि चुक्ता हुन्छ ।’

सम्झौताका बेला उनीहरुले डिपोजिटमा राखेको ७५ लाख रुपैयाँ आफूहरुसँगै रहेकाले त्यो पनि काटेर हेर्ने हो भने जम्मा १ करोड ६२ लाख मात्रै उठाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको जग्गामा बनेको युनाईटेड वर्ल्ड ट्रेड सेन्टरको २०६४ वैशाख १ गते तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गर्नुभएको थियो ।

व्यवसायिक प्रवर्द्धनका लागि निर्माण गरिएको युनाईटेड वर्ल्ड ट्रेड सेन्टरमा डिमार्टमेन्टल स्टोर, इलेक्ट्रोनिक्स तथा लत्ताकपडाका पसल, बैंक, पार्टी प्यालेस, हेल्थ क्लव, स्वीमिङपुल छन् । युनाईटेड वर्ल्ड ट्रेड सेन्टर झण्डै ५ हजार ५ सय ९६ वर्ग मिटरमा फैलिएको छ ।