माथिल्लो त्रिशूली थ्री ए को परीक्षण सम्पन्न, वैशाखभित्रै ३० मेगावाट बिजुली उत्पादन हुने

१७ बैशाख २०७६, मंगलवार १५:४२

काठमाण्डौ – माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो ।

सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेललगायतका उपकरणहरु डिजाइन अनुसार चले/नचलेको हेरिन्छ । विद्युत् भने उत्पादन हुँदैन ।

रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारदेखि उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यवसायिक रुपमा विद्युत उत्पादन केही ढिलाइ भएको घिसिङले बताउनुभयो ।

‘विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन सुरु गर्न सक्ने अवस्थामा पुर्याएका छौँ । नन्–लोड टेष्टिङ सफलतापूर्वक सम्पन्न भएको छ, अब सुरुङमा रहेको पानी खाली गरेर त्यहाँ चुहावट भए/नभएको हेरिन्छ,पानी खाली गर्न र भर्न ५/६ दिन लाग्छ, यसबीचमा अन्य कामहरु पनि समानान्तर रुपमा अगाडि बढ्छन्’ उहाँले भन्नुभयो ‘वैशाखभित्र (१५ मे २०१९)मा व्यवसायिकरुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुने छ ।’ 

दोस्रो युनिट ३० मेगावाट को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनास्थलबाट काठमाण्डाैको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज  २०६७ सालको जेठ १४ गते  ठेक्का सम्झौता भएको थियो । 

२०७१ सालको जेठ  भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि म्याद  २०७३ सालको असारसम्म थपिएको थियो ।

भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको २०७६ सालको वैशाख १७ गतेसम्म थप गरेको थियो । भूकम्प र पहिरोले बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो । सरकारले  पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो ।