मलेसियाको कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न विभागको पत्राचार

१८ चैत्र २०७५, सोमबार ११:२३

काठमाण्डौ , लामो समय देखि रोजगारीको लागी बन्द भएको मलेशिया अन्ततः ढिलै भए पनि खुल्ने भएको छ । मलेसियाको कलिङ भिसा पाएकाहरुले भोलि सोमबारदेखि श्रम स्वीकृति पाउने बताईएको छ ।

मलेसियाका रोजगारदाताबाट यसअघि नै कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्राचार गरेको वैदेशिक रोजगार बिभागले जानकारी दिएको छ ।मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि १० महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्न लागेको हो । विभागले मलेसियसन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ ।संघले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।तथ्याङ्कअनुसार झण्डै सात हजार जना कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् ।कलिङ भिसा लागेकाले भोलिदेखि श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने भएको छ ।