बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बीना थिङको ‘ब्याड भाले’ प्रथम

६ बैशाख २०७६, शुक्रबार १६:४१

काठमाण्डाै – राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बीना थिङ तामाङको ‘ब्याड भाले’ शीर्षकको कथा प्रथम भएको छ ।

बाह्रखरी बुक्सले आयोजना गरेको डिस होम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा लक्ष्मण वियोगीको कथा ‘टाउको’ दोश्रो र सुमित्रा न्यौपानेको कथा ‘बार्दली’ तेश्रो भएको छ । बाह्रखरी बुक्सले शुक्रबार काठमाण्डाैमा विशेष कार्यक्रम गरी प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो ।

प्रतियोगितामा पहिलो हुनेले एक लाख, दोश्रोले ६० हजार र तेश्रो हुनेले ४० हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा प्रतियोगिताका लागि प्राप्त ९ सय बढी कथाबाट उत्कृष्ट २५ कथाको संग्रह पनि विमोचन गरिएको छ । उत्कृष्ट २२ कथाकारलाई पाँचहजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा पहिलो , दोश्रो र तेश्रो हुने तथा उत्कृष्ट २५ कथाका कथाकारलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुरस्कार प्रदान गर्नुभएको थियो । मन्त्री ज्ञवालीले प्रतियोगितामा उत्कृष्ट २५ मा पर्ने कथाकारलाई बधाई तथा शुभकामना दिँदै आशावादी श्रृजनामा लागिरहन सुझाव दिनुभयो । साहित्य श्रृजना जीवनप्रति नै नैराश्यता ल्याउने नभई सधै जीवन बाँच्ने प्रेरणा प्रदान गर्ने किसिमको हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बाह्रखरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा कमिटी बनाएको थियो । प्रतीक प्रधान, राजेन्द्र पराजुली, गोविन्द अधिकारी, लेनिन बञ्जाडे, राजेश खनाल, अक्षर काकासहितको आन्तरिक कमिटीले चयन गरेका उत्कृष्ट २५ कथालाई डाक्टर दयाराम पाण्डे, डाक्टर अर्चना थापा तथा नयनराज पाण्डेको मुल्यांकन कमिटीले पहिलो, दोश्रो र तेश्रो कथा चयन गरेको थियो ।

प्रतियोगिताका लागि कथा पठाउनका लागि बाह्रखरीले गत माघ २१ देखि फागुन २० गते सम्म कथा आह्वान गरेको थियो ।

उत्कृष्ट २२ कथाकारमा मानसी, अनुपम रोशी, अन्वेष राई थुलुङ, अभय श्रेष्ठ, अरुणा चौधरी थारु, एकदेव अधिकारी, कर्मसही घर्तीमगर , केशव सिग्देल, गोपाल झापाली, दुर्गा कार्की, नीरज दाहाल, प्रमोद अमात्य, माधव सयपत्री, मणि लोहनी, महेश थापा, मुना चौधरी, डाक्टर राजुबाबु श्रेष्ठ, लक्ष्मण वियोगी, विपुल सिजापति, शिव प्रकाश, सुमित्रा न्यौपाने, सुरेश यक्सो, हरिमाया भेटवाल, क्षितिज समर्पण रहेका छन् ।