फेद न टुप्पाको उदेश्य बोकेर गन्तव्यमा पुगिदैनः प्रधानमन्त्री केपी शर्मा ओली

२० चैत्र २०७५, बुधबार १४:५६

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्वतन्त्रतामा आर्थिक समाजिक र समतामुलक समाज अघि बढेको भन्दै तलमाथि कसैले गर्न नहुने बताउनु भएको छ । उहाँले विप्लव नेतृत्वको माओवादीप्रति लक्षित गर्दै फेद न टुप्पाको उद्देश्य बोकेर कहीँ नपुगिने बताउनु भएको हो । ‘फेद न टुप्पाको उदेश्य बोकेर हिँडेर गन्तव्यमा पुगिदैन’ प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल काँग्रेसले भनेजस्तो देश अधिनायकवादतर्फ अघि नबढेको र त्यसतर्फ जाने कुनै सम्भावना नरहेको दावी समेत गर्नु भयो ।

काठमाडौमा आजबाट सुरु भएको राष्ट्रिय विकास परिषदको दुईदिने बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले
आधिनायकवादमा सरकार गयो भनेर आशंका फैलाउने काम भइरहेको भन्दै त्यस्तो हल्ला नफैलाउन चेतावनी समेत दिनु भयो ।
‘उहिले पनि अनेकथरीका हल्ला चलेका थिए । ६० बर्ष माथिकालाई गोली हान्छ कम्युनिष्टले भनेर हल्ला चलाएका हुन् । आज अधिनायकवादको हल्ला चलाइएको छ । तर त्यो भ्रम मात्र हो’ विकास र सम्बृद्धिको यात्रामा सवैलाई सरिक हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले बरु कुनै कुरा नमिले यहाँ मिलेन भने सुधार्न सकिने बताउनु भयो ।यो सरकार गफ गर्न नबनेको भन्दै काम गरेर देखाउने दाबी गर्नु भयो । उहाँले सरकार मात्र क्रियाशील नभई नीजि क्षेत्र समेत क्रियाशील रहेको दाबी गर्नु भयो । उहाँले भन्नु भयो , ‘अब देश अघि बढ्यो, कसैले भत्काउन सक्दैन ।’