प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी छः मन्त्री यादव

२३ चैत्र २०७५, शनिबार १५:१२

काठमाडौं, उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी रहेको बताउनु भएको छ ।

उपप्रधानमन्त्री यादवले विषादी खाद्य बस्तुको सेवन र प्रदुषणका कारण नेपालमा बढ्दो रोगहरुको नियन्त्रणका लागि पनि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता भएको बताउनु भयो ।

शनिबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ठूलो धनराशी खर्च गरेर पनि निको नहुने क्यान्सरजस्ता प्राणघातक रोगबाट बच्न खानपान र शारिरीक व्यायामका कामहरुमा ध्यान दिन पनि सर्वसाधारणलाई अपिल गर्नु भयो ।

उपप्रधानमन्त्री यादवले रासायनिक मल हालेको खाद्यन्नबाट विभिन्न रोगहरु लाग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडा कानुन ल्याउने प्रयास गरिरहेको पनि बताउनु भयो । उपप्रधानमन्त्री यादवले रोगहरुबाट बच्न बेलाबेलामा स्वास्थ्य जाँच गराउन पनि सबैलाई आग्रह गर्नु भयो ।