पूर्वसांसद रामहरि खतिवडा हावाहुरी प्रभावित क्षेत्रमा

१९ चैत्र २०७५, मंगलवार ११:१८

काठमाडौं , नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडा हावाहुरी प्रभावित तराईका जिल्ला बारा र पर्सा पुग्नु भएको छ । प्रभावित क्षेत्रमा पुगेपछि पूर्वसांसद खतिवडाले सरकारले उद्धार र राहतको लागि पर्याप्त व्यवस्था गर्न नसकेको बताउनु भयो । प्रभावित क्षेत्रमा सक्दो सहयोग गर्ने वाचा गर्दै पूर्वसांसद खतिवडाले राज्यका तर्फबाट सरकारले हावाहुरी पीडितलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।

सरकारले भूकम्प पीडितलाई दिएजस्तै हावाहुरी पीडितलाई तीन लाख रुपैयाँ अनुदान दिनुपर्ने, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै अनुदान दिनुपर्ने, पाँच लाख रुपैयाँ विना शर्त ऋण दिनुपर्ने र दुई प्रतिशत व्याजदरमा १५ लाख रुपैयाँ ऋण दिनुपर्ने माग पूर्वसांसद खतिवडाले राखनु भयो ।

‘कसैले नसोचेको घटना हुँदा प्रभावित क्षेत्रको अवस्था तनावपूर्ण रहेको छ,’ पूर्वसांसद खतिवडाले भन्नु भयो , ‘पीडित परिवारहरू राहतको प्रतिक्षामा छन् तर सरकारले राहत दिन सकेको छैन ।’प्रभावित क्षेत्रमा विद्युतदेखि खानेपानीसम्म आधारभूत सुविधा समेत नरहेको पूर्वसांसद खतिवडाले बताउनु भयो ।