नेपालको पानी कतारमा बेच्नेबारे खानेपानी मन्त्रालय सिंहदरबारमा छलफल

१९ चैत्र २०७५, मंगलवार १७:२१

काठमाडौं, खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको छ ।

उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

सो भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिएकी छिन् ।

सोही भेटघाटमा सहभागी भएका विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताए ।

नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको स्पष्ट पारे ।
नेपालको पानी पिउन कतार आतुर रहेको राजदूत हेलले बताए ।उनले भने, ‘कतारलाई ग्यास र तेलको अभाव छैन तर शुद्ध पिउने पानीको भने समस्या छ । भोलिका दिनमा पानीको समस्या आउने हामीलाई चिन्ता छ । त्यसैले नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक छ ।’उनले अरु देशको भन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको धारणा राखे ।