देश सिक्किमीकरण हुने खतरा बढ्योः चित्रबहादुर केसी

२५ चैत्र २०७५, सोमबार १७:१८

बुटवल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक खारेज नगरिए देश सिक्किमीकरण हुने खतरा भएको बताउनु भएको छ । अखिल नेपाल शिक्षक संघ पाँचौं राष्ट्रिय परिषदलाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीलाई नागरिकता दिलाएर नेपाललाई फिजीकरण र सिक्किमीकरण बनाउने खेल भइरहेको दाबी गर्नु भएको हो ।जन्मको आधारमा नागरिकता दिने सरकारको पछिल्लो निर्णय राष्ट्रघाती कदम भएको टिप्पणी गर्दै संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रमुख जिल्ला अधिकारीमार्फत विदेशीलाई नागरिकता बाँड्ने काम गरेको आरोप लगाउनु भयो । ‘अंगीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता दिनुको पछाडिको कारण के हो ? केसीले प्रश्न गर्नु भयो । ‘हिजोको शासकहरूको जुन गति थियो, नेकपाहरू पनि उतै भारतकै दबाबमा परे । सीडीओले धमाधम नागरिकता बाँड्न थाले अब नेपाली नै अल्पमतमा पर्नेवाला छन्’ उहाँले भन्नु भयो ।