जन्मको आधारमा नागरिकता पाएकाका सन्तानलाई नागरिकता दिन परिपत्र

२० चैत्र २०७५, बुधबार ११:३७

काठमाडौं , जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरूका सन्तानलाई सरकारले पुनः नागरिकता वितरण गर्ने भएको छ । उनीहरुलाई वंशजको आधारमा नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ संशोधनका लागि संसदमा विधेयक पेश भएपछि जन्मका आधारमा नागरिकता प्राप्त गरेकाको सन्ततिको नागरिकता वितरण सरकारले रोकेको थियो । संसदमा विधेयक विचाराधीन रहेको तर्क गर्दै नागरिकता वितरण रोकिएपछि जन्मका आधारमा नागरिकता लिएकाको सन्तानहरु नागरिकता लिनबाट वञ्चित हुँदै आएका थिए ।

नागरिकता वितरण रोकिएपछि अन्यायमा परेको गुनासो गर्दै प्रभावितहरुले सर्वोच्च अदालत समेत गुहारेका थिए । जसमा सर्वोच्चले प्रभावितहरूकै पक्षमा फैसला गरेको थियो ।

सर्वोच्चको फैसला र सेवाग्राहीको गुनासोपछि मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै जन्मका आधारमा नागरिकता लिएकाको सन्ततिलाई वंशजका आधारमा नागरिकता दिन निर्णय लिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले मंगलबार नै यसबारे आफू मातहतका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

उपसचिव गंगाप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित परिपत्रमा उमेर पुगेका बालिग सन्तान नागरिकताबाट वञ्चित हुँदा वृत्ति विकास प्रभावित भएकाले नागरिकता ऐन, २०६३ र नेपाल नागरिकता नियमावली, २०६३ अनुसार गर्न निर्देशन दिएको छ । परिपत्रमा नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्न भनिएको छ ।